स्वस्तिमाले किन गरिनन् ‘पल्पसा क्याफे’?

अभिनेत्री स्वस्तिमा खड्का पहिलो पटक नाटकमा देखिने तयारीमा थिइन् । पत्रकार नारायण वाग्लेको मदन पुरस्कार जित्न सफल उपन्यास ‘पल्पसा क्याफे’मा उनी पल्पसाको भूमिकामा प्रस्तुत हुँदै थिइन् । गत वर्ष मन्डला थिएटरमा एक कार्यक्रमका बीच नाटकको घोषणा गरिएको थियो । तर पहिलोपटक नाटकमा अभिनय गर्ने तयारीमा रहेकी स्वस्तिमाले भने नाटक छाडेकी छन् ।

समय अभावका कारण स्वस्तिमाले नाटकमा अभिनय गर्न नसकेको निर्देशक विमल सुवेदीले जानकारी दिए । समयको कारण उनी उपलब्ध हुन नसकेपछि उनको स्थानमा सृष्टि श्रेष्ठले पल्पसाको भूमिका निभाउने भएकी छन् । कोभिड महामारीको कारण अगिल्लो वर्ष प्रदर्शन हुनबाट रोकिएको थिएटर भिलेजको नाटक ‘पल्पसाक्याफे’यही वैशाख ९ गतेबाट काठमाडौँमा प्रदर्शन हुने भएको छ । उक्त नाटक थापागाउँस्थित मण्डला थिएटरमा वैशाखभर प्रदर्शन हुने भएको छ । अहिले नाटकको तयारी तीव्र गतिमा भइरहेको थिएटर भिलेजले जनाएको छ।

‘पल्पसाक्याफे’ उपन्यास नेपालको सर्वाधिक चर्चित उपन्यास मध्ये एक हो । यो पुस्तक अंग्रेजी, फ्रेन्च, कोरियन तथा सिंहला भाषामा अनुदित छ । १० वर्ष लामो सशस्त्र युद्धको वरपर रहेर एक पेन्टरको कथा बोल्ने उपन्यासले तत्कालीन परिवर्तनशील समाजको कथालाई सजिलो भाषामा बोलेर प्रसिद्धी कमाएको थियो।सशस्त्र युद्धमा सामेल भएको आफ्नो साथी सिद्धार्थले युद्ध हेर्न भनेर लगेपछि चित्रकार रहेको दृश्यले नजिकैबाट देखेको युद्धको वरपर उपन्यासको कथा घुमेको छ ।

Leave a Reply