‘चिसो एष्ट्रे’को अष्ट्रेलियन प्रदर्शन अधिकार २७ लाखमा बिक्री

आगामी चैत ४ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘चिसो एष्ट्रे’को अष्ट्रेलिया प्रदर्शन अधिकार बिक्री भएको छ । निर्माण कम्पनीकंगारु क्रिएसन र लोकल सिनेमाले अष्ट्रेलियाको कमेरो इभेन्ट्सलाई चलचित्र प्रदर्शन अधिकार बिक्री गरेको जनाएका छन् । कंगारु क्रिएसनका प्रमुख तथा ‘चिसो एष्ट्रे’ चलचित्रका निर्माता महेशबाबु तिमिल्सिनाले कमेरोले ३० हजार अष्ट्रेलियन डलरमा प्रदर्शन अधिकार लिएको जनाएका छन् । अहिलेको चलिरहेको अष्ट्रेलियन डलरलाई नेपाली रुपैयाँमा रुपान्तरण गर्दा यो २७ लाख बराबर हुन आउँछ । कमेरोका सुरज सुवेदी र निर्माता महेशबीच चलचित्र प्रदर्शन गर्ने सम्बन्धमा औपचारिक सम्झौता समेत सम्पन्न भइसकेको छ ।

‘अष्ट्रेलियामा निरन्तर कार्यक्रमहरू गरिरहने कमेरो इभेन्ट्ससँग हाम्रो फिल्म पनि चलाउने सम्झौता भएको छ । उहाँहरूसँग पहिला पनि थुप्रै नेपाली फिल्म प्रदर्शन गरेको अनुभव छ,’ निर्माता महेशले भने, ‘लामो समयपछि अष्ट्रेलियामा नेपाली फिल्म प्रदर्शन हुनलागेको छ । यसले हामीसँगै अष्ट्रेलियाका नेपाली पनि उत्साहित हुनुहुन्छ । यसले विदेशतिर नेपाली फिल्म प्रदर्शनको बाटो बनाउने कुरामा पनि हामी आशावादी छौँ ।’

दिनेश पाल्पाली (दिन्श) ले निर्देशन गरेको चलचित्रमा दिव्य देव, सृष्टि श्रेष्ठ, सुशील पाण्डे, निकुन श्रेष्ठ, नविन लम्साल र रबिन तामाङको मुख्य भूमिका रहेको छ । कङ्गारु क्रिएसन र लोकलसिनेमाको संयुक्त ब्यानरमा निर्मित चलचित्रलाई महेशबाबु तिम्सिनाले प्रस्तुत गरेका हुन् । निर्माणमा भने महेशबाबुलाई प्रवीण स्याङ्बा र शर्मिला पराजुलीले सघाएका छन् । रुपेश ढुङ्गाना र नवीन ढुङ्गाना चलचित्रका सह निर्माता हुन् ।

गाउँबाट सहर आएको एउटा युवाको सहरिया बन्ने यात्रा समेटिएको चलचित्रमा दिनेशले लेखन, निर्देशनसँगै गीतकारको पनि भूमिका निर्वाह गरेका छन् । चलचित्रमा संगीत अजर जंगमको छ । उज्ज्वल बस्ताकोटीको छायाङ्कन रहेको चलचित्रमा उज्ज्वल ढकालले सम्पादन रहेको चलचित्र रिच इन्टरटेनमेन्ट र जिजिए ग्रुपले वितरण गर्नेछ ।

Leave a Reply