‘कबड्डी ४’को ‘केशरी’ गीतमा सौगात र मिरुनाको प्रेम(भिडियो)

रामबाबु गुरुङ निर्देशित तथा निर्मित सुपरहिट चलचित्र ‘कबड्डी’ को चौथौ सिक्वेल चलचित्र ‘कबड्डी ४’को पहिलो गीत सार्वजनिक भएको छ । प्रेम भाव बोल्ने ‘केशरी’ बोलको गीत सोमवार यूट्युबमा सार्वजनिक गरिएको छ उक्त गीतमा एसडी योगीको स्वर, राम अविरल विष्टको शब्द र गायक योगीकै संगीत रहेको छ । गीतको भिडियोमा अभिनेता सौगात मल्ल र अभिनेत्री मिरुना मगर फिचर छन् । गीतमा उनीहरुलाई कृष्ण र राधाको जोडीको रुपमा पनि प्रस्तुत गरिएको छ । गीतमा सौगात र मिरुनाको जोडी निकै सुहाएको छ । गीतमा सौगात मिरुनाको प्रेममा छन् ।

आउँदो जेठ १३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, विजय बराल, बुद्दि तामाङ, मिरुना मगर, गौमाया यात्री, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा लगायतका कलाकारको अभिनय रहनेछ । गौमायाले यही चलचित्रबाट अभिनेत्रीको रुपमा डेब्यू गर्न लागेकी हुन् । यसपटक चलचित्रमा ‘मैयाँ’ को भूमिकामा मिरुना मगर देखिनेछिन् ।

‘द फाइनल म्याच’ उप-शिर्षक राखिएको चलचित्रलाई ‘कबड्डी’ को अन्तिम भाग भनिएको छ । ‘कबड्डी’ को पहिलो पार्टमा दयाहाङ राई, निश्चल बस्नेत र रेश्मा गुरुङ मुख्य भूमिकामा थिए । दोस्रो पार्टमा निश्चलको ठाउँमा सौगात मल्ल भित्रिए । तेस्रो पार्टमा विल्सन विक्रम राई, कर्मा र उपासना सिंह ठकुरी जोडिएका थिए । अब फाइनल म्याचमा ‘कबड्डी’ को कथामा जोडिएका सबै प्रमुख पात्रहरु दोहोरिने निर्माण टिमले बताएको छ ।

बासुुरी फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रमा मणीराम पोखरेल, अर्जुन कार्की, ओमचन्द्र रौनियारको लगानी रहनेछ । चलचित्रमा निमेश श्रेष्ठको सम्पादन, शैलेन्द्र डी कार्कीको छायांकन, कालिप्रसाद बाँस्कोटाको संगीत रहनेछ । मणिराम पोखरेल निर्माता रहेको यो चलचित्रको कथा निर्देशक गरुङले लेखक उपेन्द्र सुब्बासँग मिलेर तयार पारेका हुन् ।

भिडियो हेर्नुहोस् :

Leave a Reply