‘कबड्डी ४’को प्रदर्शन स्थानीय तहको निर्वाचनले गर्दा सर्‍यो, अब जेठ १३ मा प्रदर्शन हुने

रामबाबु गुरुङ निर्देशित तथा निर्मित सुपरहिट चलचित्र ‘कबड्डी’ को चौथौ सिक्वेल चलचित्र ‘कबड्डी ४’को प्रदर्शन मिति परिवर्तन रिलिज मिति परिवर्तन गरिएको छ । वैशाख २३ गतेका लागि प्रदर्शन तय भएको यो चलचित्र अब जेठ १३ गते प्रदर्शन हुनेछ । बुधबार निर्माणपक्षले सरकारले वैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचन घोषणा गरेकाले ‘कबड्डी ४’को प्रदर्शन मिति पछि सारिएको जानकारी दिएको हो ।

मणिराम पोखरेल निर्माता रहेको यो चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, विजय बराल, बुद्दि तामाङ, मिरुना मगर, गौमाया यात्री, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा लगायतका कलाकारको अभिनय रहनेछ । गौमायाले यही चलचित्रबाट अभिनेत्रीको रुपमा डेब्यू गर्न लागेकी हुन् । यसपटक चलचित्रमा ‘मैयाँ’ को भूमिकामा मिरुना मगर देखिनेछिन् ।

‘द फाइनल म्याच’ उप-शिर्षक राखिएको चलचित्रलाई ‘कबड्डी’ को अन्तिम भाग भनिएको छ । ‘कबड्डी’ को पहिलो पार्टमा दयाहाङ राई, निश्चल बस्नेत र रेश्मा गुरुङ मुख्य भूमिकामा थिए । दोस्रो पार्टमा निश्चलको ठाउँमा सौगात मल्ल भित्रिए । तेस्रो पार्टमा विल्सन विक्रम राई, कर्मा र उपासना सिंह ठकुरी जोडिएका थिए । अब फाइनल म्याचमा ‘कबड्डी’ को कथामा जोडिएका सबै प्रमुख पात्रहरु दोहोरिने निर्माण टिमले बताएको छ ।

बासुुरी फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रमा मणीराम पोखरेल, अर्जुन कार्की, ओमचन्द्र रौनियारको लगानी रहनेछ । चलचित्रमा निमेश श्रेष्ठको सम्पादन, शैलेन्द्र डी कार्कीको छायांकन, कालिप्रसाद बाँस्कोटाको संगीत रहनेछ । चलचित्रको कथा निर्देशक गरुङले लेखक उपेन्द्र सुब्बासँग मिलेर तयार पारेका हुन् ।

Leave a Reply