‘म यस्तो गीत गाउँछु २’ ले अपनायो प्रचारको नयाँ शैली

आगामी फागुन १३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको प्रतिक्षीत चलचित्र ‘म यस्तो गीत गाउँछु २’को टिम कम्मर कसेर प्रचार प्रसारमा लागिरहेका छन् । दर्शकलाई हलसम्म तान्न चलचित्रको गीत, ट्रेलर वा टिजर मात्र प्रचारको शैली बनिरहेको बेला ‘म यस्तो गीत गाउँछु २’ ले प्रचारको नयाँ शैली भित्राएको छ ।

प्रचारमा नयाँ शैली अपनाउदै निर्माण टिमले बुधबार थारु भाषामा चलचित्रको प्रमोशनल गीत सार्वजनिक गरेको थियो । त्यस्तै, बिहीबार भने नेवारी भाषामा चलचित्रको प्रमोशनल गीत सार्वजनिक गरिएको छ । काजिश श्रेष्ठले निर्देशन गरेको भिडियोमा मुख्य कलाकारद्वय पल शाह र पूजा शर्मा नेवारी पहिरनमा देखिएका छन् । गीतमा आश्रय रञ्जित र कल्पना श्रेष्ठको स्वर र नरेश जोगीको शब्द तथा संगीत छ । सम्भवत चलचित्रको लागि थारु र नेपाल भाषामा प्रमोशनल गीत बनाएर प्रचार गरेको यो पहिलो पटक हो ।

सुदर्शन थापाको निर्माण तथा निर्देशनमा तयार भएको चलचित्रको प्रचारप्रसारमा दौडधुप गरिरहेको चलचित्रको टिम केहि दिन अघि नै हलमा पुगेर माहोल बुझ्न पुगेका थिए । उनीहरुले हलमा पुगेर दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्नुका साथै हलका कर्मचारी र म्यानेजरसँग पनि दिनहुँ जसो भेटघाट गरिरहेका छन् । यो चलचित्र यही फागुन १३ गते रिलिज हुँदैछ । पल र पूजा चलचित्रको प्रचारका लागि अन्तरवार्ता, पत्रकार सम्मेलन देखि चर्चित टेलिसिरियल र रियालिटी शोहरुमा समेत पुगिरहेका छन् ।

चलचित्रको सार्वजनिक भएको ‘तिम्रो घरको वरिपरि’,‘दुःखको काँडा’ र ‘कसम कसम’ बोलको गीतलाई दर्शक तथा श्रोताले निकै रुचाएका छन् । चलचित्रको ट्रेलरलाई पनि दर्शकले अत्याधिक मन पराएका छन् । सांगीतिक प्रेम कथामा तयार भएको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ मा पल र पूजाका अलावा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकायलगायतका कलाकारहरुको अभिनय छ ।

Leave a Reply