‘म यस्तो गीत गाउँछु २’ सँग प्रदर्शन मिति जुधे पछि ‘लप्पन छप्पन २’ को गम्भिर आपत्ति

देशभरका सिनेमा हलहरु आगामी फागुन १ गतेबाट खुल्दैछन् । कोरोनाको तेस्रो लहर फैलिएको कारण माघ ३ गतेबाट बन्द भएका हल फेरी खुल्न लागेका हुन् । फागुन १ गतेबाट हल खुल्ने भएपछि रिलिज हुँदाहुँदै हल बन्द भएपछि रोकिएका नेपाली चलचित्र ‘चपली हाइट ३’ र ‘कठपुतली’ पुनः हलमा लाग्दैछन् ।

त्यसैगरी आगामी फाल्गुन १३ मा दुई ठुला ब्यानरका नेपाली चलचित्र एकसाथ प्रदर्शन हुँदैछ र ती हुन् ‘म यस्तो गीत गाउँछु २’ र ‘लप्पन छप्पन’। चलचित्र संघले सबैभन्दा पहिला संघमा निवेदन दिएर मिति बुक गर्ने चलचित्रलाई प्रदर्शनको अनुमति दिने बताएको थियो । तर, यसपटक संघले आफ्नै निर्णय लत्याउँदै पहिला नै संघमा निवेदन दिएर प्रदर्शन मिति बुक गरेको चलचित्रसँग अर्को चलचित्र भिडाउने निर्णय गरेको छ । संघले फागुन १३ गते चलचित्र ‘लप्पन छप्पन २’ सँग चलचित्र ‘म यस्तो गीत गाउँछु २’ भिडाउने निर्णय गरेको हो ।

यसबीच, ‘लप्पन छप्पन २’ को निर्माण कम्पनी गोल्डेन हिल्स पिक्चरले बिहीवार एक विज्ञप्ति जारी गर्दै फागुन १३ गते ‘म यस्तो गीत गाउँछु २’ लाई प्रदर्शन गर्न दिने चलचित्र संघको निर्णयप्रति गम्भीर आपत्ति जनाएको छ । निर्माता निर्मल कुमार मिश्रद्वारा हस्तारक्षित विज्ञप्तिमा गत पुष १९ गते चलचित्र संघमा निवेदन दिएर (दर्ता नं. ३५१) चलचित्र प्रदर्शन मिति दर्ता गरेको उल्लेख गरिएको छ ।

सुदर्शन थापाको निर्माण तथा निर्देशनमा तयार भएको प्रतिक्षीत चलचित्र ‘म यस्तो गीत गाउँछु २’ अभिनेत्री पूजा शर्मा र अभिनेता पल शाहको मुख्य भूमिका रहेको छ । सांगीतिक प्रेम कथामा तयार भएको चलचित्रको ट्रेलरलाई पनि दर्शकले अत्याधिक मन पराएका छन् । त्यस्तै, मुकुन्द भट्ट निर्देशित मल्टीस्टारर नेपाली चलचित्र ‘लप्पन छप्पन २’मा शिव श्रेष्ठ, सौगात मल्ल, अनुपविक्रम शाही, अर्पण थापा लगायतको अभिनय छ ।

Leave a Reply