‘प्रेमगीत ३’ को प्रदर्शन फेरि रोकियो

आगामी फागुन १३ गतेलाई प्रदर्शनमा आउन तयार रहेको प्रतिक्षीत चलचित्र  ‘प्रेमगीत ३’ फेरि अनिश्चितकालका लागि पोस्टपोन्ड भएको छ । माघ दोस्रो साताबाट नेपालमा ओमिक्रोन भेरियन्ट संक्रमित बढ्ने स्वास्थ्य मन्त्रालयको अनुमानपछि चलचित्रको प्रदर्शन रोकिएको हो । सोमवार फेसबुकमा एक विज्ञप्ति जारी गर्दै निर्माता तथा निर्देशक सन्तोष सेनले अप्ठ्यारो परिस्थितिलाई मध्यनजर गर्दै फिल रिलिज रोकेको जानकारी दिए ।

उनले लेखेका छन्, ‘भारत बजारका वितरक समुहले दिएको सल्लाह-सुझावलाई मनन् गर्दै सिनेमा घरहरु बन्द हुने क्रम बढेकोले नेपाल र भारतमा अलग-अलग मितिमा प्रदर्शन नगरी एकसाथ प्रदर्शन गर्नुपर्ने प्रस्ताव आएकोले हामी नअत्तालिकन यो अप्ठ्यारो परिस्थितिलाई मध्यनजर गर्दै र त्यो गहकिलो प्रस्तावलाई स्विकार गर्दै अनिश्चितकालको लागि प्रदर्शन मिति स्थगित गरेका छौं ।’

चलचित्रमा प्रदीप खड्का तेस्रो पटक ‘प्रेम’को रुपमा देखिँदैछन् भने नव-अभिनेत्री क्रिस्टिना गुरुङ ‘गीत’ र सन्तोष आफैँ ‘अंगत’को भूमिकामा पर्दामा देखिनेछन् । प्रदीप र क्रिस्टिनाका साथमा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी, क्रिजन गौतम, जीवन बराल, जीवन भट्टराई, सुजल बस्नेतलगायतका कलाकारको पनि अभिनय हेर्न सकिनेछ ।

हिन्दी र नेपाली भाषामा निर्माण भएको चलचित्रलाई स्वर्गीय छेतन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गरेका हुन् । सन्तोष सेनको लगानीमा बन्न लागेको चलचित्रमा चत्र बहादुर चन्द र डम्बर बिक्रम सेन कार्यकारी निर्माताको रुपमा रहेका छन् । कल्याण सिंह र एलिश कार्कीको संगीत रहेको चलचित्रमा राजेश श्रेष्ठको डिओपी, हिमाल केसीको एक्सन, कविराज गहतराजको कोरियोग्राफी र बनिश शाह/भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।

Leave a Reply