बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’को सेन्सर पास

चलचित्र ‘टुल्की’ को सेन्सर पास भएको छ । बुधबार केन्द्रीय चलचित्र जाँच समितिले चलचित्रलाई सबैले हेर्न मिल्ने गरी यूनिभर्सल सर्टिफिकेट दिएको छ ।

बहुपति प्रथामा आधारित भएर निर्माण भएको चलचित्रको प्रदर्शन मिति भने अहिले सम्म तय भएको छैन । निर्माण टिमले दुई महिना अगाडि चलचित्रको फस्टलुक पोस्टर र टिजर सार्वजनिक गरिसकेको छ ।

झन्डै चार वर्षको अनुसन्धानपछि निर्माण भएको उक्त चलचित्रमा बहुपति प्रथाका साथै सुदुरपश्चिममा कुप्रथाको रूपमा व्याप्त छाउपडी प्रथालाई पनि उजागर गर्न खोजिएको निर्माण पक्षको भनाइ छ। यही चलचित्रबाट नायिकाको रुपमा डेब्यू गर्न लागेकी स्वस्तिमा कार्की चलचित्रको टाइटल क्यारेक्टरमा छिन् ।

देवजंग थापाको निर्देशन रहेको चलचित्रमा शिशिर वाङ्देल, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, सोफिया लिम्बु, दीर्घ लामा, भक्तसिंह कठायत लगायतको पनि अभिनय छ । द पाल्म ग्रुप प्रालीद्वारा निर्माण गरिएको चलचित्रलाई निर्देशक थापाले नै छायांकन गरेका हुन् । लक्ष्मण सुनुवारको कथा, संजिव लिम्बुको संगीत, तारा थापा ‘किम्भे’ को सम्पादन रहेको चलचित्रको निर्मातामा आर.पि कर्माचार्य र शेखर लामा निर्माताको रुपमा छन् ।

चलचित्रलाई नेपालभन्दा पहिला विदेशका विभिन्न ठाउँमा प्रदर्शन गर्न निर्माण टिमको तयारी रहेको छ । अहिलेसम्म ९० लाख रुपैयाँ बढी लगानी भएको बताईएको चलचित्र सबैभन्दा पहिला यूकेमा प्रदर्शन हुनेछ ।

लमजुङ, गोरखा, लमजुङ, मुस्ताङ, मनाङ, हुम्ला, जुम्ला, डोल्पा लगायतका केही गाउँमा अझै बहुपति प्रथा प्रचलनमा छ । घरको जेठो छोराले विवाह गरी ल्याएकी श्रीमतीलाई उसका भाइहरूले पनि श्रीमतीको रूपमा स्वीकार गर्ने प्रथा नै बहुपति प्रथा हो । श्रीमतीकै रूपमा स्वीकार गरे पनि उनीहरूले भाउजू भन्ने गर्छन् ।

लकडाउनको समयमा माथिल्लो डोल्पामा सुटिङ भएको चलचित्रको ट्रेलरमा डोल्पाको तल्लो भागमा बसोबास गर्ने ब्राह्मण परिवारमा जन्मिएकी एक युवतीले माथिल्लो डोल्पाको शेर्पासँग प्रेम विवाह गरेर गएपछि उनले भोग्नु परेको पीडा र व्यथालाई देखाउन खोजिएको छ । चलचित्रको छायांकन डोल्पा जिल्लाको फोक्सुन्डो, त्रिपुराकोट, रल्ली, करेलीकाँडा लगायतका विकट गाउँबस्तीमा पुगेर गरिएको हो।

Leave a Reply