केकीको मुख्य भूमिका रहने ‘सिल्ली फो’को छायांकन हुँदै

चलचित्र ‘सिल्ली फो’ निर्माण हुने भएको छ । राजबहादुर सानेको लेखन तथा निर्देशनमा निर्माण हुने चलचित्रमा केकी अधिकारी मुख्य भूमिकामा छिन् । यस चलचित्रको पहिलो चरणको छायांकन पूरा भइसकेको छ । १५ दिन खिचेर ब्रेक लिइएको चलचित्रको मंसिर १ गतेबाट दोस्रो चरणको छायांकन हुने बताइएको छ । चार बदमासको कथामा भन्ने चलचित्रको सम्पूर्ण छायांकन बाँके क्षेत्रमा हुनेछ ।

चलचित्रमा केकीका अलावा राजाराम पौडेल, रविन्द्र झा, दिनेश रेग्मी, दीपक थापा, अनिथा श्रेष्ठ, चन्द्र पोखरेल, अनिता लामिछाने, भुगोल कार्की, रमेश बजगाइँ, सरस्वती रामजाली मगर, सागर विष्ट, कुशल बोहोरा, गोपाल विक, राजकुमार सापकोटा, छत्रेश्वर प्रसाद शर्मा लगायतका कलाकारहरु अभिनय रहनेछ । चलचित्रको मुल कथा केकीको वरिपरी घुम्ने बताईएको छ ।

रुद्र खनाल प्रस्तुतकर्ता रहेको चलचित्रको निर्मातामा मनोज डिके र सह-निर्मातामा विशाल श्रेष्ठ र सागर विष्ट रहेका छन् । चलचित्रमा दिव्यराज सुवेदी छायाँकार, पुरुषोतम न्यौपाने संगीतकार र रामजी लामिछाने कोरियोग्राफरको रुपमा छन् । ‘पर्खी बसे फर्की आउनेछु, डोली, विरांगना’ जस्ता चलचित्रको निर्देशन गरिसकेका सानेले ‘सिल्ली फो’ को कथा पूर्ण कमेडी रहेको बताएका छन् ।

Leave a Reply