अनुपम खेरले पशुपति मन्दिरमा भेटिएकी बालिकाको पढाइको जिम्मा लिने(भिडियो)

बलिउड अभिनेता अनुपम खेरले पशुपतिनाथ मन्दिरमा भेटिएकी एक बालिकाको पढाइको सम्पूर्ण जिम्मेवारी लिने भएका छन् । खेर बलिउड चलचित्र ‘उचाइ’ छायाँकनका लागि नेपाल आए थिए । उनले गत साता पशुपतिनाथ मन्दिर परिसरमा आरती नाम गरेकी बालिकालाई भेटेका थिए ।

अनुपमले सामाजिक संजालमा अनुपमले भारतको राजस्थान घर बताउँदै आरतीले आफूसँग पैसा मागेको र राम्रो अंग्रेजी बोल्ने क्षमता भएको भन्दै प्रशंसा गरेका छन् । स्कुल पढ्न चाहेको तर आफूसँग पैसा अभाव भएको ती बालिकाले बताएको अनुपमले बताएका छन् । अनुपम खेर फाउन्डेसनले ती बालिकाको पढाइको जिम्मा लिएको खेरले जनाएका छन् ।

अभिनेता खेरसहितको बलिउड टोली नेपालमा एक महिना रहेर चलचित्र ‘उचाइ’को छायांकन गरेको थियो । चलचित्र छायांकन सकेर टोली गतसाता मुम्बइ फर्किएको थियो ।

निर्देशक सुरज बडजात्या ​४० दिनको छायाँकन सेड्युलसहित नेपाल आएका थिए । तर, मौसमले राम्रो साथ दिएकोले २५ दिनमै चलचित्रको नेपाल छायांकन सम्पन्न भएको थियो । यस चलचित्रको दोस्रो चरणको सम्पूर्ण छायांकन भारतमा मात्र हुनेछ ।

चलचित्रको छायांकनका लागि भारतीय कलाकारहरु अनुपम खेर, बोमन इरानी, परिणीति चोपडा, सारिका हसन लगायत नेपाल आएका थिए । चलचित्रमा अमिताभ बच्चनको पनि अभिनय रहेको छ । तर, उनी भने स्वास्थ्य अवस्थाका कारण नेपाल आउन सकेनन् । नेपालमा उनको भागको छायांकनका लागि डुब्लिकेटको प्रयोग गरिएको थियो ।

चलचित्रमा नेपाली कलाकारहरु परमिता आरएल राणा, सरोज लामिछाने, डम्बर बोहरा, उरुशा जोशी, रमेश बज्राचार्य, तेन्जिङ ग्याचो शेर्पा, निरज मुक्तान, नारायण विश्वकर्मा, आयुश सुवेदी, स्नेहा अधिकारी, सरोज प्रजु लगायतको पनि अभिनय छ । चलचित्रको नेपाल व्यवस्थापन थ्री ह्विलर्स कम्पनी हेरेको छ ।

नेपाल आइपुगेदेखि नै अनुपम खेर, बोमन इरानी र परिणीति चोपडाले सामाजिक सञ्जालको माध्यमबाट नेपालको प्राकृति सौन्दर्यताको खुलेर प्रशंसा गर्दै आएका छन् । अनुपमले त पशुपतिनाथमा दर्शन गरेपछि हिन्दूहरुको धार्मिक स्थलमा आउन पाउँदा खुसी लागेको बताएका थिए ।