‘मुन्द्रेको कमेडी क्लब’को प्रसारण बन्द हुने

चर्चित हाँस्यकलाकार जितु नेपालले संचालन गर्दै आएको रियालिटी शो ‘मुन्द्रेको कमेडी क्लब’को प्रसारण बन्द हुने भएको छ । नेपाल टेलिभिजनमा प्रशारण हुँदै आएको यो शो आउँदो साता प्रशारण भएपछि बन्द हुने भएको छ ।

डेढ बर्ष भन्दा लामो समयदेखि प्रसारण हुँदै आएको यो शो बन्द भएपछि आफूले केही समय विश्राम लिने र नयाँ शो दर्शकमाझ ल्याउने जितुको तयारी रहेको छ । यो शोमा निक्कै नै लोकप्रिय भएका कलाकार उमेश राई ‘फुलन्देकी आमा’ अर्को एक रियालिटी शोको होेस्ट बन्ने पक्का भएसँगै पनिजितुले यो शो बन्द गर्ने निर्णय गरेका हुन् ।

मंसिरदेखि छायांकन सुरु हुने चलचित्रमा व्यस्त हुनुपर्ने भएकाले मुन्द्रेको कमेडी क्लबलाई ब्रेक गर्न लागिएको बताईएको छ । मंसिरदेखि सुरु हुने चलचित्रमा जितु र साम्राज्ञी शाहको मुख्य भूमिका हुनेछ भने कपिल रिजालले यसलाई निर्देशन गर्नेछन् ।

मुन्द्रे उपनामले हाँस्य कलाकारिताको क्षेत्रमा चिनिने जितुले यसअघि नेपाल टेलिभिजनमा प्रसाररण हुने ‘जिरे खुर्सानी’ को निर्देशन समेत गरेका थिए । जिरे खुर्सानीबाटै उनले मुन्द्रेको परिचय बनाउन सफल भएका हुन् । जिरे खुर्सानीमा लामो समय काम गरेपछि उनले चलचित्रमा हात हालेका थिए ।

यो क्लबमा हाँस्य कलाकारहरु राजाराम पौडेल, राजेन्द्र नेपाली र उमेश राईको पनि अभिनय देखिन्छ । पहिले यस शोको अध्यक्षमा निर्देशक दीपाश्री निरौला थिइन् र पछि उनको ठाउँमा नायिका करिश्मा मानन्धरको प्रवेश भएको थियो ।

कि इन्टरटेनमेन्टले विभिन्न स्केच कमेडी तथा सेलिब्रिटी टक सोको फरमेट पछ्याउदै नेपालीपनसहितको सोच राखेर ‘मुन्द्रेको कमेडी क्लब’ कार्यक्रम दर्शकमाझ ल्याएको थियो ।

Leave a Reply