राजकुमार र पत्रलेखा नोभेम्बरमा विवाह गर्दै?

लामो समयदेखि प्रेम सम्बन्धमा रहेका कलाकार राजकुमार राव र पत्रलेखा बलिउडको चर्चित जोडी मध्ये एक हुन्। र अब भने राजकुमार राव र पत्रलेखाको बिहे चर्चा पनि सुरु भएको छ ।

बलिउड नायक राजकुमार राव र कलाकार पत्रलेखा चाडै नै विवाह बन्धनमा बाँधिन लागेको भारतीय मिडियाले उल्लेख गरेका छन् । ई–टाइम्सका अनुसार राजकुमार र पत्रलेखाले १० नोभेम्वरका दिन विवाह गर्न लागेका हुन् ।

ई–टाइम्सको एक सुत्रका अनुसार राजकुमार र पत्रलेखाले आफ्नो परिवार र नजिकका साथीहरुको उपस्थितिमा विवाह गर्न लागेका हुन् । सञ्चार माध्यममा विभिन्न खबर आइरहेको भएपनि यी दुईले आफ्नो विवाहको बारेमा कुरा गरेका छैनन्।

राजकुमार राओ र पत्रलेखा विगत ६ वर्षदेखि प्रेम सम्बन्धमा थिए र यो जोडी लामो समयदेखि लिभ इन रिलेशनमा रहँदै आएका छन् । यो जोडीले सामाजिक संजालमा समेत एक–अर्काका लागि पोष्ट र एकअर्कासँग समय बिताएको तस्बिर सेयर गर्दै आएका छन् ।

पत्रलेखाले बलिउडमा चलचित्र ‘सिटीलाइट’ बाट डेब्यू गरेकी थिइन्। उक्त चलचित्रमा राजकुमार राओसँग उनले अभिनय गरेकी थिइन्। त्यसबाहेक उनले लभ गेम्स, बदनाम गाली र नानुकी जानु लगायतका चलचित्रमा काम गरिसकेकी छन्।

राजकुमारले भने बलिउडमा ‘लभ, सेक्स और धोका’ बाट डेब्यू गरेका थिए। त्यसपछि उनले अभिनय गरेको चलचित्र ‘काय पोचे’ ले उनलाई दर्शकमाझ चिनायो । राओले काम गरेका धेरै चलचित्रहरुले राम्रो समिक्षा पाएका छन्। पछिल्लो पटक उनी प्रियंका चोपडाको ‘द ह्वाइट टाइगर’, जान्ह्वी कपूरसँग ‘रुही’ चलचित्रमा देखिएका थिए।

हालै मात्र अभिनेता राजकुमार रावको चलचित्र ‘हम दो हमारे दो’ दर्शकमाझ रिलिजमा आएको थियो । यस चलचित्रमा अभिनेत्री कृति सेननसँग उनको जोडी निकै मन पराइएको थियो ।

बलिउडमा केही दिनयता कलाकारहरुको बिहेको खबरले निकै चर्चा पाइरहेको छ । रणवीर कपुर र आलिया भट्ट, कट्रिना कैफ र विक्की कौशलको बिहेको चर्चा चलिरहेको छ ।

Leave a Reply