राजेश हमालसँग ‘सत्यम्’को वर्कसपमा व्यस्त पल र मलिका

चलचित्र ‘सत्यम्’को अहिले वर्कशप चलिरहेको छ । तिहारपछि छायांकन सुरु हुन लागेको चलचित्रको दुई दिनदेखि पर्यटकीय गन्तव्य धम्पुसमा वर्कसप चलिरहेको हो ।

राजेश हमाल चार वर्षपछि ‘सत्यम्’बाट कमब्याक गर्दैछन् । हमालको शिर्ष भूमिका रहने यो चलचित्रमा उनलाई एक्सन अवतारमा देख्न पाइनेछ । चलचित्रमा उनीसँगै पल शाहको पनि अभिनय रहनेछ । उनको जोडीको रुपमा मलिका महत देखिनेछिन् भने भिलेनको भूमिकामा अपुनविक्रम शाही रहने छन् ।

चलचित्रको वर्कसपमा हमाल पनि सहभागी छन् । सम्भवतः आफ्नो करिअरमा उनी पहिलो पटक कुुनै लचित्रको वर्कसपमा सहभागी भएका हुन् । धम्पुसमा हमालसँगै पल शाह, मलिका महत, किशन सुनार, मिलन सिजापति लगायतका कलाकारहरुले वर्कसप गरिरहेका छन् ।

तिहारपछि छायांकन सुरु हुने यो चलचित्र मनाङ, मुस्ताङ, पोखरा र काठमाडौंमा खिचिनेछ । चलचित्रको इन्डोर छायांकनका लागि निर्माण टिमले ठूलो खर्चमा पोखरामा भव्य सेट निर्माण गरेको छ ।

शंकर कार्कीको निर्देशनमा बन्न लागेको यो चलचित्रमा हमालको चार वटा लुक्स हेर्न पाइने निर्माणपक्षले बताएको छ ।

नवयुग सिनेमाको प्रस्तुतीमा बन्न लागेको यो चलचित्रमा लेखन तथा निर्माण रेशम सापकोटाको रहनेछ । चलचित्रमा योगेशकाजीको संगीत, कुटुम्ब ब्याण्डको शिर्ष गीत, विदुर पाण्डेको छायांकन रहनेछ । अष्टमान महर्जनको एक्सन रहने चलचित्रमा रामजी लामिछानेको कोरियोग्राफी रहनेछ ।

चलचित्रमा अभय बराल र कृष्ण जोशीको पनि अभिनय हेर्न सकिनेछ । यो चलचित्रबाट मोक्तर खान, कैलाश रावल, नेरिस्का स्थापित, प्रिन्स प्रसिद्द सिंह, प्रविण चापागाँई, अन्विशा खड्की लगायतका कलाकारहरुले डेब्यू गर्दैछन् ।

पर्दामा राजेश हमाल र अनुपले दोस्रो पल्ट सँगै काम गर्न लागेका हुन् । यसअघि उनीहरुले चलचित्र ‘सौर्य’ मा एकसाथ अभिनय गरेका थिए । राजेश हमाल र पल शाहले पहिलो पटक ठूलो पर्दामा स्क्रिन शेयर गर्न लागेका हुन् । यसअघि उनीहरुले एक म्यूजिक भिडियोमा भने एकसाथ काम गरेका थिए ।

त्यस्तै, पलले मलिकासँग पनि पहिलो पटक चलचित्रमा काम गर्न लागेका हुन् । म्यूजिक भिडियोमा भने यो जोडी निकै रुचाइएको छ । मलिकाले राजेश हमाल र पल शाहसँग पहिलो पटक ठूलो पर्दामा काम गर्दैछिन् ।

Leave a Reply