भरतमणी पौडेल बने ‘कमेडी च्याम्पियन २’को विजेता

नेपालकै पहिलो कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को दोश्रो सिजन ‘कमेडी च्याम्पियन २’का भरतमणी पौडेल विजेता बनेका छन् । शनिबार भएको ग्राण्ड फिनालेमा उनले सिक्किमका विक्की अग्रवाल र गोरखाका सन्तोष थापालाई पछि पार्दै दोश्रो सिजनको उपाधि हासिल गरेका हुन् ।

उनले २५ लाख नगदका साथै कार पाएका छन् । अन्य आकर्षक गिफ्ट ह्याम्पर समेत प्राप्त गरेका छन् । उपाधि जितेका ताप्लेजुङका भरतमणि कमेडी च्याम्पियन सिजन २ को सुरुवातदेखि नै चर्चामा आएका थिए। तर,पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाको क्यारिकेचर गरेपछि दर्शकको ‘नोटिस’मा परेका थिए । त्यस्तै उनले सेमिफाइनलमा पूर्व युवराज पारस शाहको गेटअपमा उनको क्यारिकेचर गरेका थिए । जुन प्रस्तुतीबाट निकै तारिफ पाएका थिए ।

उनी ‘कमेडी च्याम्पियन’मा सात पटकसम्म ‘पर्फर्मर अफ द राउण्ड’ बनेका थिए । भरतमणिले पूर्वराजा ज्ञानेन्द्र शाह, लोसपा नेता राजेन्द्र महतोको क्यारिकेचर पनि हुबहु गर्ने गरेका छन् । खासगरी उनले घरबेटीको प्रसंग आफ्ना प्रस्तुतिमा दिँदा दर्शकले निकै मन पराएका छन्।

आफ्नो भोगाइ मिसाएर समय सान्दर्भिक सामाजिक तथा राजनीतिक व्यंग्य गर्ने उनको खुबीलाई दर्शकले अत्यधिक रूचाएका छन्। उनी रेडियो तमोरमा ‘टेन्सन-फ्री’ कार्यक्रम चलाउँथे। यही कार्यक्रममार्फत उनले पूर्वाञ्चल हुँदै काठमाडौंसम्म आइपुग्ने आधार बनाएका हुन्। उनले भद्रगोल टेलिशृंखलामा समेत अभिनय गरेका छन्। कमेडी च्याम्पियन-२ का निर्णायकमध्ये एक मनोज गजुरेलसँग लामो संगत गरेका उनीसँगै भरतमणिले रेडियो नेपालमा कायर्क्रमसमेत चलाएका थिए।

कमेडी च्याम्पियनको यो सिजनमा सुरूमा डिजिटल अडिसन र पछि फिजिकल अडिसन गर्दै २४ जना सहभागी छनौट गरिएको थियो। विशाल भण्डारीले निर्देशन गर्ने ‘कमेडी च्याम्पियन’ कान्तिपुर टीभी र युट्युब च्यानल ‘ओएसआर रियालिटी’बाट प्रशारण हुँदै आएको थियो । यसको पहिलो सिजनबाटै निर्णायकमा हास्यकलाकार सन्तोष पन्त, मनोज गजुरेल, अभिनेत्री ऋचा शर्मा र चलचित्र निर्देशक प्रदीप भट्टराई थिए भने शोलाई रीमा विश्वकर्माले होस्ट गर्दै आएकी थिइन् । ‘कमेडी च्याम्पियन’को पहिलो सिजनमा हिमेश पन्त विजेता बनेका थिए ।

Leave a Reply