आज जन्मदिन मनाउँदै कलाकार खगेन्द्र लामिछाने[फोटोफिचर]

स्याङ्जामा जन्मिएका नेपाली रङ्गमञ्च र चलचित्र इन्डस्ट्रीका एक सफल कलाकार खगेन्द्र लामिछाने आज आफ्नो जन्मदिन मनाउँदैछन् । नेपाली चलचित्र क्षेत्रमा ‘वधशाला’बाट प्रवेश गरेका खगेन्द्र मुख्यतया मौलिक कथा र पटकथा भएको चलचित्र अभिनय गर्न रुचाउने पात्र हुन् । जीवन्त अभिनय गरेर दर्शक रिझाउन सफल उनी निकै थोरै चलचित्र अभिनय गरेपनि धेरै चर्चा पाउने अभिनेता हुन् । र दर्शक माझ नामले भन्दा पनि कामले चिनिन्छन् । उनको सानै देखिको इच्छा लेखक बन्ने थियो । सोही इच्छा बोकेर उनी गाउँबाट राजधानी छिरेका थिए । उनको अहिले लेखक र अभिनेता दुबै परिचय बनेको छ ।

थिएटरमा नाटक लेख्ने अभिनय गर्ने क्रमसंगै नेपाली रङ्गमञ्चबाट चलचित्र क्षेत्रमा प्रवेश गरेका खगेन्द्र सन् १९९९ देखि रंगमञ्चमा सक्रिय छन् । नाटक उपन्यास त छदै छ साथमा चलचित्र लेखनमा पनि उतिकै अग्रसर उनले ‘टलक जङ्ग भर्सेज टुल्के’ र ‘पशुपतिप्रसाद’ जस्ता सफल र उत्कृष्ट चलचित्र नेपाली चलचित्र इन्डस्ट्रीलाई दिएका छन् । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय थिएटर फेस्टिभलमा सहभागी भएका उनी बिबिसी नेपाली सेवाको रेडियो नाटक ‘कथा मिठो सारङ्गीको’बाट पनि निकै चर्चामा आएका हुन् । यस कार्यक्रमले अन्त राष्ट्रिय अवार्ड समेत पाएको थियो । उनको चलचित्र ‘टलक जङ्ग भर्सेज टुल्के’ले उनलाई नेपाली चलचित्र क्षेत्रमा एक कुशल निर्देशक कलाकार र लेखकको परिचय दिलायो । उक्त चलचित्र नेपालबाट अक्सर अवार्डका लागि पनि छानिएको थियो । पशुपति प्रसादबाट दर्शकहरुको माया र साथले हौसला पाएका उनले चलचित्र धनपती, डमरु डण्डीबियो,जय भोले लगायत चलचित्रमा पनि सम्झिन योग्य चरित्र निभाएका छन् । उनको आगामी चलचित्र हो ‘पानी फोटो’ जसलाई लामिछाने आफैले लेखन तथा निर्देशन गर्दै छन् । आफ्नो अभिनयले दर्शकको मनमा अमिट छाप छोडेका नेपाली चलचित्रका परिचित नाम र लेखक,कलाकार हुँदै अब चलचित्र निर्देशकका रुपमा आफूलाई उभ्याउन तयार भएका “खगेन्द्र लामिछाने “लाई जन्मदिनको हार्दिक शुभकामना!!




तस्वीर : योगेन्द्र भुजेल/भद्र बहादुर कार्की/कोरिबाटी

Leave a Reply