फिल्मीकर्मीलाई ५ हजार डोज खोप उपलब्ध गराउन चलचित्र निर्माता संघको माग

चलचित्र निर्माता संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग फिल्मकर्मीका लागि कोरोनाविरुद्धको खोप उपलब्ध गराउन आग्रह गर्दै ज्ञापन पत्र बुझाएको छ । संघका अध्यक्ष आकाश अधिकारीले स्वास्थ्यमन्त्री शेरबहादुर तामाङलाई पत्र बुझाउँदै ५ हजार कोभिड खोप माग गरेका हुन् । संघले स्वास्थ्य मन्त्रालयलाई बुझाएको पत्रमा भनिएको छ, ‘चलचित्रकर्मीले आजका मितिसम्म खोप उपभोग गर्न पाएका छैनन् । संघको ४ सय ५० सदस्यसहित अन्य संघ-संस्थाले उपलब्ध गराएको नामावलीको आधारमा ४ हजार ५ सयदेखि ५ हजार खोप उपलब्ध गराउन अनुरोध गर्दछौं ।’

निर्माता संघले कोरोना महामारीका कारण अन्य क्षेत्र जस्तै फिल्म उद्योग पनि प्रभावित भएको र यस उद्योगमा आश्रित लाखौं श्रमजीवि फिल्मकर्मी आर्थिक संकटमा परेको अवगत गराउँदै चाँडोभन्दा चाँडो कोरोनाविरुद्धको खोप उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेको छ । यसअघि चलचित्र विकास बोर्डले पनि मन्त्रालयसँग फिल्मकर्मीका लागि खोप माग गरेको थियो ।

Leave a Reply