नेपाललाई दुई लाख डलरको स्वास्थ्य सामग्री सहयोग गर्दै दक्षिण कोरिया

कोरोना भाइरसको महामारी फैलिएको नेपालमा दक्षिण कोरियाले स्वास्थ्य सामग्री सहयाग गर्ने भएको छ । नेपाललाई कोरोना नियन्त्रणका लागि दक्षिण कोरियाले तत्काल दुई लाख अमेरिकी डलर बराबरको स्वास्थ्य साम्रगी सहयोग गर्ने भएको हो । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए), राष्ट्रिय समन्यव परिषद् दक्षिण कोरियाको पहलमा उक्त स्वास्थ्य सामग्री प्राप्त हुन लागेको हो । एनआरएनए दक्षिण कोरियाले एक विज्ञप्ति जारी गर्दै यसको जानकारी दिएको छ ।

 
एनआरएनए कोरियाका तर्फबाट अध्यक्ष यज्ञराज सुवेदी र महासचिव डा. विमल सुवेदीले विभिन्न मितिमा दक्षिण कोरियाका सांसद एवं नेपाल दक्षिण कोरिया संसदीय समितिका सभापति इ साङ्ग ह्युन र दक्षिण कोरिया सत्तारूढ दलको प्रवासी सरोकार तथा योजना निर्माण प्रमुख एवं सांसद खो यङ् यिनलाई भेट गरी नेपालमा देखिएको कोरोना भाइरसको दोस्रो चरणको महामारीका विषयमा जानकारी गराएका थिए ।

उनीहरुले कोरोना नियन्त्रणका लागि दक्षिण कोरिया सरकारका तर्फबाट आवश्यक सहयोगको अपेक्षासहित अनुरोध पनि गरे । उक्त अनुरोधलाई स्वीकार गर्दै दक्षिण कोरिया सरकारले आकस्मिक सहयोगका रूपमा दुई लाख डलर बराबरको स्वास्थ्य साम्रगी सहयोग गर्ने निर्णय गरेको हो । निर्णयपश्चात कोरियाका सांसद खो यङ् यिनले फोन सम्पर्कमार्फत गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्यव परिषद् दक्षिण कोरियालाई सहयोग गर्ने जानकारी गराएको एनआरएनए दक्षिण कोरियाका महासचिव डा. सुवेदीको भनाइ छ ।

उक्त सहयोग समाग्री नेपाली राजदूतावास सउलसँगको समन्वयमा तत्काल नेपाल पठाइने भएको छ । त्यस्तै अन्य ठूला र दीर्घकालीन सहयोगको मात्रा र विकल्पमा नेपालमा रहेको कोरियाली राजदुतवासले नेपाल सरकारसँग थप समन्वय गरिरहेको पनि सांसद खो यङ् यिनले जानकारी दिएको उनको भनाइ छ ।

गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्यव परिषद् दक्षिण कोरियाले सहयोग गर्ने सम्पूर्णमा धन्यवाद दिँदै सहयोग प्राप्त हुने उक्त स्वास्थ्य साम्रगीले नेपालको कोरोना महामारी नियन्त्रणमा सहयोग पुग्ने विश्वास लिएको बताएको छ । रासस

Leave a Reply