प्रशान्त तामाङको ‘पाताल लोक २’ मा अभिनयले गर्दा चर्चा तिव्र हुँदै

नेपाल र भारतमा अहिले ‘पाताल लोक २’ वेब सिरिजको निकै चर्चा भइरहेको छ। प्राइम भिडियोमा हालै रिलिज भएको यस सिरिजले भारतीय दर्शक मात्र होइन, नेपाली दर्शकहरूलाई पनि तानिरहेको छ। यसको एउटा प्रमुख कारण अभिनेता प्रशान्त तामाङको अभिनय हो। गायक र अभिनेताका रूपमा पहिचान बनाएका प्रशान्त यस सिरिजमा महत्त्वपूर्ण भूमिकामा देखिएका छन्। सिरिजमा उनले स्नाइपर डेनियल लीचूको नकारात्मक भूमिका निर्वाह गरेका छन्, जसले कथालाई नयाँ मोड दिन्छ। उनी सिरिजभर प्रभावशाली मात्र नभई, आफ्नो अभिनय कौशलले दर्शकहरूको मन जित्न सफल भएका छन्।

प्रशान्तको भूमिकाले भारतीय मिडियामा समेत ठूलो चर्चा बटुलिरहेको छ। इन्डिया टिभीले प्रशान्तको अभिनयको प्रशंसा गर्दै भनेको छ, “यस सिरिजपछि प्रशान्त अब हिन्दी क्षेत्रमा एक शक्तिशाली अभिनेता बन्नेछन्।” त्यस्तै, बलिउड मिडिया पिंकभिल्लाले उनको अभिनयलाई “असाधारण प्रदर्शन” भनेर मूल्यांकन गरेको छ। यो वेब सिरिज प्रशान्तका लागि हिन्दी फिल्म क्षेत्र प्रवेश गर्ने महत्वपूर्ण ढोका बनेको छ। यसअघि नेपाली फिल्म ‘परदेशी २’ मा देखिएका प्रशान्तले यसै सिरिजमार्फत हिन्दी वेब सिरिजमा आफ्नो डेब्यु गरेका हुन्। साथै, उनको अर्को प्रोजेक्ट ‘द फेमिली म्यान ३’ यसै वर्ष रिलिज हुने तयारीमा छ, जसमा नेपाली कलाकार सुनिल थापा पनि समावेश छन्।

दार्जिलिङमा जन्मिएका प्रशान्तले सन् २००७ मा ‘इन्डियन आइडल’ जितेपछि आफ्नो करियरको आधार तयार पारेका थिए। त्यसपछि, उनले नेपाली फिल्म उद्योगमा ‘गोर्खा पल्टन’ मार्फत डेब्यु गरे र एक सफल अभिनेता तथा गायकको पहिचान बनाए। ‘मन साइँली’ जस्ता गीतहरूदेखि ‘निशानी’ र ‘अंगालो यो मायाको’ जस्ता फिल्महरूसम्म, उनले हरेक विधामा आफ्नो सशक्त छाप छोडेका छन्। ‘पाताल लोक २’ मा उनको अभिनयले अन्तर्राष्ट्रिय स्तरमा उनलाई चिनाउने भरपर्दो आधार तयार पारेको छ। प्रशंसा र समर्थनले भरिएको यो यात्रा उनको करियरमा नयाँ उचाइको संकेत हो।

Leave a Reply