‘गुलाबी’मा ‘ट्रान्सवुमन’को भूमिकामा नाजिर हुसेन

महिला निर्देशक समुन्द्र भट्टको निर्देशनमा निर्माण भएको चलचित्र ‘गुलाबी : एक रंग’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बिहीबार वसन्त पञ्चमीको अवसरमा सार्वजनिक गरिएको पोस्टरमा अभिनेता नाजिर हुसेनले पहिलो पटक ट्रान्सवुमन (पारलिंगी महिला)को रुपमा चित्रित छन् । पारलैङ्गिकताको कथामा निर्माण भएको चलचित्रमा नाजिर टाइटल क्यारेक्टरमा छन् ।

चलचित्रमा अभिनेत्री सञ्चिता लुइँटेलको पनि मुख्य भूमिका रहेको छ । चलचित्रमा नाजिर र सञ्चितासँगै सुशिल सिटौला, राजा घोष, विशाल पहारी, अनुपम श्रेष्ठ ‘हटी नटी’, शिशिर राणाको पनि अभिनय छ । निर्देशक भट्टकै कथामा बनेको चलचित्रमा पटकथा तथा संवाद रामकुमार श्रेष्ठ र नाजिर हुसैनको छ । सार्वजनिक फर्स्टलुक पोस्टरमा चलचित्रको प्रदर्शन मिति भने उल्लेख गरिएको छैन ।

चलचित्रलाई अभिनेत्री सुहाना थापाको कम्पनी त्रिनेत्रम डिस्ट्रिब्युसनले वितरण गर्ने छ । दि स्काइ ओसन इन्टरटेन्मेन्टको ब्यानर र अनुपम फिल्मस् सँगको सहकार्यमा निर्माण भएको ‘गुलाबी’लाई आलोक शुक्लाले छायांकन गरेका हुन् । भद्र भुजेल एसोसिएट निर्देशक रहेको चलचित्रमा पुष्कर लामाको निर्माण नियन्त्रण छ भने निर्माण व्यवस्थापकमा यम वली छन् । सम्राट बस्नेत द्वन्द्व निर्देशन रहेको चलचित्रमा सीमा गुरुङको शृङ्गार छ ।

Leave a Reply