सामन्थाले अभिनयबाट ब्रेक लिँदै

भारतीय अभिनेता सामन्था रुथ प्रभुले विगत केही वर्षहरूमा तेलुगु चलचित्रमा केही असाधारण काम गरिरहेकी छिन् र प्राइम भिडियोको ओटीटी शृंखला ‘द फैमिली सिजन २’ को ठूलो सफलतापछि सामन्थाले धेरै बलिउड चलचित्र साइन गरेकी थिइन् । अहिले धेरै प्रोजेटबाट उनले हात झिकेको खबर समेत बाहिर आइरहेको छ । उनले आफ्नो स्वास्थ्यमा ध्यान दिन प्रोजेक्टबाट हात झिकेको बताइन्छ । मिडिया रिपोर्टका अनुसार उनले अहिले धेरै निर्मातालाई लामो ब्रेक चाहिएको बताएकी छन् ।

चलचित्र ‘यशोदा’मा अन्तिम पटक देखा परेकी सामन्थाले केही समयअघि आफू मायोसाइटिस नामक रोगबाट पीडित भएको खुलासा गरेकी थिइन् । त्यसयता उनी सामाजिक सञ्जालमा खासै सक्रिय छैनन् । मिडिया रिपोर्टका अनुसार सामन्थाले विजय देवरकोंडासँग चलचित्र ‘कुशी’ को छायांकन छिट्टै सक्नेछिन् । चलचित्रको ६० प्रतिशत छायांकन पूरा भइसकेको छ र लामो ब्रेक लिनुअघि उनले यो चलचित्रको काम सक्न चाहिन्छन् ।

तेलुगु संचारमाध्यमले जनाएअनुसार सामन्थाले स्वास्थ्यमा ध्यान केन्द्रित गर्न र निको हुनको लागि चलचित्रबाट लामो ब्रेक लिने निर्णय लिएकी छन् । ‘कुशी’ शिव निर्वाणले निर्देशन गरेको रोमान्टिक चलचित्र हो । चलचित्र २०२३ को फेब्रुअरीमा रिलिज हुनेछ । सामन्थाको गत वर्ष अभिनेता नागा चैतन्यसँग सम्बन्धविच्छेद भएको थियो । सामन्थाले अक्टोबर २ मा सामाजिक सञ्जालमार्फत आफ्नो सम्बन्ध विच्छेद भएको जानकारी दिएकी थिइन् । विवाहअघि सामन्था र नागा चैतन्यले करिब तीन वर्ष एक अर्कालाई डेट गरेका थिए । त्यसपछि दुबैले हिन्दू र क्रिस्चियन रिवाजअनुसार विवाह गरेका थिए । –दैनिक भास्कर

Leave a Reply