महापुरूषले बनायो रेकर्ड : स्वदेशसँगै विदेशमा ५१ औँ दिन तर्फ लम्किदै

चलचित्र ‘महापुरूष’ प्रदर्शनको पाँचौ हप्तामा प्रवेश गरेको छ । नेपालसँगै संयुक्तराज्य अमेरिका, अष्ट्रेलियामा प्रदर्शन भइरहेको चलचित्र गतसाता देखि युरोप र आउँदो सातादेखि मध्यपूर्वी देशहरूमा प्रदर्शन हुँदैछ । नेपालमा दर्शकबाट पाइरहेको समीक्षाले विदेश प्रदर्शनलाई मदत पुगेको छ । यस्तै, अमेरिकाको डलासबाट सुरू भएको प्रदर्शन समेत पाँचौ हप्तामा छ । चलचित्र हेर्ने दर्शकमार्फत प्रतिक्रियाले नै यसको पब्लिसिटी भइरहेको छ । यसैले गर्दा चलचित्र ‘५१ औँ’ दिन तर्फ लम्किरहेको छ ।

स-परिवार नै चलचित्र हेर्न हलसम आउने हुँदा पनि यसको दर्शक बढिरहेका छन् । चाडपर्व सकिएपछि प्रदर्शनमा आएको चलचित्रलाई विदेशी चलचित्रले समेत असर गरेको छैन । हप्तैपिच्छे प्रदर्शनमा आउने विदेशी चलचित्रले शुक्रबार र शनिवार शोमा असर गरेता पनि दर्शकको खोजीमा परेपछि ‘महापुरूष’ उही लयमा फर्किरहेको छ । अर्थात् चलचित्रले प्राप्त गरेको शोहरू दिउसो र रात्रिसमयको हाउसफुल छन् । यसैले गर्दा पनि पहिलो दिन पाएको शो र प्रदर्शनको ३० औँ दिनमा पाएको शोहरूमा भिन्नता छैन । चुनावपछिको माहोल र विश्वकप फुटवलसँगै जाडोले व्यापारमा असर गरेको छैन । ‘महापुरूष’ ले पाइरहेको शो संख्या गन्ने हो भने केही चलचित्रलाई पहिलो दिन मल्टिप्लेक्स यत्तिको शो पाउन मुस्किल पर्ने गर्छ ।

चलचित्रले परिवारलाई जोड्ने काम समेत गरिरहेको लेखक तथा निर्देशक प्रदीप भट्टराईले बताए । ‘हाम्रो फिल्म हेर्न परिवार जम्मा भएर आइरहनु भएको छ । फिल्म हेर्ने बहानामा उहाँहरूको घुमघाम समेत भइरहेको छ’, निर्देशक भट्टराईले भने,‘फिल्मले स्वदेशसँगै विदेशबाट पाइरहेको माया र प्रतिक्रियालाई धन्यवाद भन्ने शब्द नै हामीसँग छैन । समाजमा गाडिएको गम्भीरविषयलाई पर्दासम्म ल्याउन यसले हामीलाई थप बल मिलेको छ ।’ पाँचौ हप्तामा चलचित्रले मल्टिप्लेक्स चेन क्युएफएक्सले मात्रै देशभरका आफ्ना आउटलेटमा १५ शो पाएको छ । पाँचौ सातामा शोहरू यथावत रहनुले दर्शकको आकर्षण कम नभएको स्पष्ट हुन्छ ।

नेपालमा मात्र नभई संयुक्तराज्य अमेरिकामा समेत यसले ५१ औँ दिनको यात्रा तय गर्दैछ । स्थानीय वितरक नेपाल वानवान इन्टरटेनमेन्ट एलएलसीका प्रतीक सुवेदीले नेपालसँगै रेगुलर प्रदर्शन भइरहेको जानकारी दिए । ‘हामीले नेपाल झैँ अमेरिकाको विभिन्न सहरहरूमा रेगुलर प्रदर्शन गरिरहेका छौँ । अहिलेसम्म दुई सय भन्दा बढी शो भइसकेका छन् । यो चलचित्र २०२३ को सुरुवातसम्म प्रदर्शन हुने अनुमान गरेको छु’, वितरक सुवेदीले भने । उनले दैनिक ३ देखि ४ शो राखिएकोमा भरिभराउ भइरहेको बताए । उत्तरी अमेरिकामा सबै भन्दा बढी प्रदर्शन हुने नेपाली चलचित्रको रेकर्ड बनाइसकेको चलचित्रले क्यानाडासमेत प्रदर्शनको आरम्भ गरिसकेको छ ।

यस्तै, चलचित्र अष्ट्रेलियाको विभिन्न सहरमा प्रदर्शन भइरहेको छ । एमएसएम इभेन्ट्स सिड्नी, क्यानबेरा, तास्मानिया, मेलबर्न लगायतका सहरहरूमा प्रदर्शन गरिसकेको छ । नोभेम्बर २० देखि युरोपका विभिन्न सहरहरूमा यसलाई किरण गुरुङले प्रदर्शन गरिरहेका छन् । मध्यपूर्वी देशहरू अन्तर्गत संयुक्त अरब इमिरेट्स, बहराइन, ओमान, कतारमा आउँदो डिसेम्बर १ देखि प्रदर्शन हुँदैछ । मिड्ल इस्टका देशहरूमा प्रदर्शनको अधिकार लिएका निप फिल्म्सका संचालक रमेश ढकालले भक्स, नोभा, स्टार, रोयल, ओस्कार, सिनेको, सिनेपोलिस लगायतका सिनेमाजहरूमा चलचित्र ‘महापुरूष’ प्रदर्शन हुने जानकारी दिए ।

चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्र सिंह बानियाँ, शिरू विष्टसँगै नवप्रस्तुतिमा अरुण क्षेत्री र अञ्जना बराईली मुख्य भूमिकामा रहेका छन् । चलचित्रमा एक्लोपनको कथा देखाइएको छ । आदर्शनगरमा बसोबस गर्ने अवकासप्राप्त शिक्षक मार्फत पिता र एलकपुरुषसँगै एक्लोपनकथा चलचित्रमा देखाइएको छ । भविष्य निर्माण गर्न अलग भइसकेको छोरा, सपना बोकेर अष्ट्रेलिया जान लागेको छोरा र एक्लोपनमा रहेका शिक्षकमार्फत समाजको गम्भीर विषयलाई सरल रुपमा प्रस्तुत गरिएको छ ।

षट्कोण आर्ट्स प्रा.लि.को व्यानारमा निर्मित चलचित्रमा कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री रहेका छन् । षट्कोण आर्ट्सले यसअघि टलकजङ भर्सेस टुल्के, जात्रा र जात्रै जात्रा चलचित्र निर्माण गरेको छ । चलचित्रमा दीपक बज्राचार्यको छायांकन, मित्र डी. गुरुङको सम्पादन रहेको छ। यही फिल्म बाट कवि नवराज पराजुलीले पनि गीतकारको रुपमा फिल्ममा डेब्यु गरेकाछन् । फिल्मको पार्श्व ध्वनिमा रोहित शाक्य / शैलेश श्रेष्ठ, ध्वनि संयोजनमा अमित श्रेष्ठ, रंग संयोजनमा कपिल पराजुली, मिडिया कसल्टेन दिनेश सिटौला फिल्म्स, पब्लिसिटी डिजाइन ट्राइडेन्ट, सहायक निर्देशक शान्तिम कोइराला र प्रोडक्सन म्यानेजरमा रूपक प्रताप अधिकारी रहेका छन्।

Leave a Reply