नेपाली सिनेक्षेत्रले आशा राखेको तीन उम्मेदवार

देश यतिबेला निर्वाचनमय भएको छ । चुनाब आउन अब तीन दिन मात्र बाँकी छ । यही मंसिर ४ गते ५ वर्षका लागि हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा यसपटक विभिन्न क्षेत्रबाट नेपाली कलाकारहरुले पनि उम्मेदवारी दिएका छन् । कोही पार्टीबाट उम्मेदवार बनेका छन् भने कोही स्वतन्त्र उठेका छन् । संघारमा रहेको निर्वाचनमा आफ्नो जित निकाल्न उम्मेदवारहरु दिनहुँ घरदैलो गरिरहेका छन् ।

कलाकारिताबाट राजनीतिमा लागेकी नेपाली चलचित्रकी चर्चित अभिनेत्री रेखा थापाप्रति यतिबेला धेरैको चासो छ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रत्यक्षतर्फ उनी मोरङ क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यमा उठेकी छन् । दशैंभन्दा अगावैदेखि उनी आफ्नो क्षेत्रका जनतासँग प्रत्यक्ष भेट गर्दै त्यहाँको समस्या बुझिरहेकी छन् । गत मंसिरमा भएको पार्टीको महाधिवेशनमा उनी महामन्त्रीको उम्मेदवार पनि बनेकी थिइन् तर, पराजित भइन्। झन्डै तीन दशक लामो अभिनय करिअर रहेको रेखाको राजनीतिक यात्रा भने माओवादी केन्द्रबाट सुरु भएको थियो। २०७० सालमा उनले माओवादी केन्द्र प्रवेश गरेकी थिइन् ।

यस्तै चलचित्र बनाउँदा बनाउँदै देश बनाउनेतिर लागेका कलाकार हुन्, फिल्ममेकर असिम शाह । प्रतिनिधिसभाको चुनावमा उनी राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट मुस्लिम खुल्ला समानुपातिक उम्मेदवार हुन् । शाह फिल्ममेकिङमा लागेको २० वर्ष भइसक्यो । ‘दुई रुपैयाँ’ निर्देशक शाहले चलचित्र, गीत–संगीत, निर्देशन देखि दर्जनौं विज्ञापन निर्माण गरिसकेका छन् । आफ्नो व्यवसायीक कर्ममा अहोरात्र खटिरहेका शाह रहरभन्दा पनि बाध्यताले राजनीतिमा लाग्नुपरेको बताउछन् । एक युवाको रुपमा नेपालको विविधतामा एकता खोज्ने र जोड्ने हिम्मत आफूमा रहेको पनि शाह बताउछन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका अर्का कलाकार हुन्, चलचित्र निर्देशक मनोज पण्डित । पण्डितले काभ्रेपलाञ्चोक क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका हुन् । सो निर्वाचन क्षेत्रबाट नेकपा एमालेबाट गोकुल बाँस्कोटा र सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका शिव हुमागाईं प्रतिस्पर्धामा छन् । त्यो क्षेत्रबाट यसअघि भारी मतले एमाले नेता गोकुल बाँस्कोटा विजयी छन् । ग्रेटर नेपाल, दासढुंगा, छायाँ, एक र बधशाला चलचित्रका निर्देशक पण्डित काभ्रे क्षेत्र नम्बर २ कै स्थायी बासिन्दा हुन् । काभ्रेबाट चलचित्र बनाउन काठमाडौं आएका पण्डितले राजनीतिक विषयमा चलचित्रबाटै थुप्रै टिप्पणी गरेका छन् । यी कलाकारहरुप्रति उनीहरुले उम्मेदवारी दिएको क्षेत्रको जनताको मात्र नभएर चलचित्र क्षेत्रको पनि आशा र भरोसा छ ।

Leave a Reply