मीन भामको ‘चिसो वर्ष’मा सोनम तोप्देन

निर्देशक मीनबहादुर भामको आगामी चलचित्र ‘चिसो वर्ष’को प्रमुखमध्येको एक भूमिकामा सोनम तोप्देन छानिएका छन् । गायक समेत रहेका सोनमले सुदर्शन थापा निर्देशित चलचित्र ‘सम्हालिन्छ कहिले मन’बाट डेब्यु गरेका थिए । पहिलो चलचित्रबाट नै उनले गरेको अभिनयको सबैले तारिफ गरे र उनले निकै माया पाए। ‘चिसो वर्ष’को लागि दसैँअघि नै अडिसन दिएका सोनम चलचित्रमा छानिएका हुन् । यो चलचित्रमा सोनम प्रमुखमध्येको एक भूमिकामा देखिने छन्। सोनमले निर्देशक भामबाट यस वर्षको दशैं टीका पनि लगाएका थिए ।

पुसदेखि छायांकन सुरु हुने चलचित्रको लागि सोनम मीन भामको टिमसँग डोल्पा जाने छन् । भेराइटी म्यागजिनका अनुसार जीवन बाँच्नका लागि महिला पात्रले गर्ने संघर्षको कथा पेस गर्ने चलचित्रलाई रोड जनराको चलचित्र भनिएको छ । पितृसत्ता बलियो भएको एक हिमाली गाउँको कथा यसले भन्छ ।

‘कालो पोथी’ चलचित्रबाट चर्चा कमाएका मीनको चिसो वर्ष(अ इयर अफ कोल्ड)को पटकथाले यसअघि विभिन्न अन्तर्राष्ट्रिय अनुदान तथा पुरस्कार पाइसकेको छ। चिसो वर्षको पटकथा २० पटक पुनर्लेखन गरिसकेका मीनका अनुसार अब पटकथा लगभग तयार छ। चिसो वर्षमा हिमाली गाउँको कथा छ। बहुपति प्रथाको पृष्ठभूमिमा यसमा पेमा र लामाको यात्रा समेटिएको छ। यी दुई पात्र हराएका आफन्तको खोजीमा निस्कन्छन्।

Leave a Reply