‘२ नम्बरी’ को टाइटल गीत बनाएर भूषणले जिते ५० हजार

निर्देशक दिपेन्द्र लामाको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्र ‘२ नम्बरी’को शीर्ष गीतका लागि यसको निर्माण पक्षले केही साता अगाडि प्रतियोगिता नै राखेको थियो । शीर्ष गीतका लागि ६१ वटा गीत प्राप्त भएको निर्माण पक्षले जनाएको छ । जसमध्ये, भूषण खतिवडाले चलचित्रको उत्कृष्ट शीर्ष गीत लेखेका छन् । भूषणको यो गीत चलचित्रमा प्रयोग हुनेछ । साथमा उनले ५० हजार नगद पुरस्कार समेत जितेका छन् । अब, चलचित्रको शीर्ष गीतमा उनकै शब्द, संगीत र स्वर रहने प्रस्तुतकर्ता किरण नेपालीले जानकारी दिए ।

आगामी असोज २१ गते प्रदर्शन हुने चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, उगेन छोदेन (भुटानी अभिनेत्री), उपासना सिंह ठकुरी र बुद्धि तामाङको मुख्य भूमिका रहेको छ । चलचित्रमा दयाहाङ र उगेन तथा सौगात र उपासनाको जोडी बाँधिएको छ । चलचित्रको सम्पूर्ण कास्कीको छायांकन ल्वाङ गाउँमा भएको हो ।

एउटा सुन्दर गाउँका २ जना साथी, उनीहरुको मित्रता र दुश्मनीको कथामा बन्ने चलचित्र ‘२ नम्बरी’ले समाजमा हुने गरेका २ नम्बरी कामलाई पनि उठान गर्नेछ । रेड बर्ड प्रोडक्शन र आरआर फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण भएक चलचित्रमा कार्यकारी निर्माताको रुपमा किरण नेपाली छन् । चलचित्रमा गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) र अमलादेवी राईको लगानी छ । भने, कार्यकारी निर्माता सरोज नेपाली हुन् । चलचित्रमा सुशन प्रजापतिको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।

Leave a Reply