महजोडीको ‘महापुरुष’बाट चलचित्रमा डेब्यू गर्दै अन्जना बराईली

वरिष्ठ हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मुख्य भूमिका रहने चलचित्र ‘महापुरुष’बाट अन्जना बराईलीले अभिनेत्रीको रुपमा डेब्यू गर्दैछिन् । मोडलिङ र म्यूजिक भिडियोमा अभिनय गरेकी अन्जना अडिसनमार्फत् यो चलचित्रमा छनोट भएकी हुन् । अन्जनाले चलचित्रमा प्रतिष्ठाको भूमिका निर्वाह गरेकी हुन् । उनी चलचित्रमा मदनकृष्ण श्रेष्ठकी छोरीको भूमिकामा छिन् । उनले अडिसनमा देखाएको अभिनयले नै ‘सेलेक्ट’ गरिएको कलाकारसँगै कार्यकारी निर्माता रहेका रबिन्द्र सिंह बानियाँले बताए ।
‘हामीलाई चाहिएको जस्तै उहाँमा पायौँ । अडिसनमा दिइएको फरक तीन भूमिकालाई उहाँले निभाउनु भएको दृश्यले हामीलाई प्रभाव छाड्यो । धेरैको अडिसन लिएता पनि उहाँले भूमिका सुहाउँदो भएकाले सेलेक्ट गरेका हौँ’ बानियाँले भने । उनले अडिसन मार्फत छानिएको अन्जनाको काम फिल्ममा प्रशंसायोग्य रहेको बताए । ‘दिग्गज कलाकारहरुसँग स्क्रिनमा देखिदा उनीमा देखिएको कन्फीडेन्टले उनको भविष्य उज्वल छ भने लागेको छ । उनले आफ्नो भूमिकालाई जीवन्त बनाएकी छिन’ उनले भने ।
राम्रो फिल्मको खोजीमा रहेकी अन्जना पनि यो टिमसँग जोडिएर आउन पाउँदा खुसी छिन् । ‘मैले केहि फिल्ममा अडिसन पनि दिएकी थिएँ । एक फिल्ममा सेल्केट भएर केहि समय प्रतीक्षा पनि गरें । तर त्यो फिल्म बनेन् । पछि यसमा अडिसन दिएँ’ उनले भनिन् । मह जोडी र प्रदीप भट्टराईको निर्देशनमा काम गर्न पाउँदा उनको सिकाई पनि भएको छ । ‘म यहाँको लागि नौलो मान्छे । मलाइ रबिन्द्र दाई र प्रदीप दाईले राम्रोसँग गाइड गर्नु भयो । अभिनयलाई प्रस्तुत गर्ने शैली सिकाउनु भयो’ उनले भनिन् ।

कार्तिक ११ अर्थात् भाइटिकाको भोलिपल्टबाट विश्वव्यापी प्रदर्शन हुने चलचित्रलाई प्रदीप भट्राईले निर्देशन गरेका हुन् । षट्कोण आर्ट्सको प्रस्तुतीमा निर्माण भएको ‘महापुरुष’मा म्याक्स् दिपेश खत्री निर्माताको रुपमा छन् । चलचित्रका कार्यकारी निर्माता रविन्द्र सिंह बानिया हुन् । उनले प्रदीप भट्टराईको निर्देशनमा यसअघि ‘जात्रा र जात्रै जात्रा’ जस्ता सफल चलचित्रमा सहकार्य गरिसकेका छन् । यो उनीहरुको तेस्रो सहकार्य हो । निर्देशक भट्टराई र निर्माता बानियाँले यसअघि चलचित्र निर्माण र निर्देशनको सफलतामा ह्याट्रिक गरिसेकाका छन् ।

चलचित्रमा गौरी मल्ल, रविन्द्र सिंह बानियाँ, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, पण्डित प्रज्वल लुइँटेललगायतको अभिनय रहेको छ । अरुण यही चलचित्रबाट अभिनेताको रुपमा डेव्यु गर्दैछन् । चलचित्रलाई नरेन्द्र मैनालीले खिचेका हुन्।

चलचित्रमा दीपक बज्राचार्यको छायांकन , मित्र डी. गुरुङको सम्पादन रहेको छ। यही फिल्मबाट कवि नवराज पराजुलीले पनि गीतकारको रुपमा चलचित्रमा डेब्यु गर्दै छन् । चार गीत रहने फिल्मका चारै गीत नवराज पराजुलीले लेखेको र संगीत ऋदम कँडेलको रहेको छ। फिल्मको पार्श्व ध्वनिमा रोहित शाक्य / शैलेश श्रेष्ठ , ध्वनि संयोजनमा किशोर आचार्य , रंग संयोजनमा जुनिम गहतराज र प्रोडक्सन म्यानेजरमा रूपक प्रताप अधिकारी रहेका छन्।

Leave a Reply