‘झिंगेदाउ’को बक्स अफिसमा उत्साहजनक कमाइ

गत भदौ १७ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘झिंगेदाउ’ले बक्स अफिसमा उत्साहजनक गरिरहेको छ । बलियो ‘वर्ड अफ माउथ’ को कारण ज्ञानेन्द्र देउजा निर्देशित चलचित्रले व्यापारमा छलाङ मार्न सफल भएको छ।

प्रदर्शनको पहिलो हप्ता चलचित्रको व्यापार उत्साहजनक रह्यो । यो अवधिमा चलचित्रले बक्सअफिसमा डेढ करोडको व्यापार गर्‍यो । दोस्रो हप्ताको शुक्रवार र शनिवार फिल्मले व्यापारमा थप उछाल ल्याएको छ । यो दुई दिन देशभरका मल्टीप्लेक्स र सिंगल थिएटर हाउसफुल भएसँगै चलचित्रको ९ दिने कमाई २ करोड पार भएको छ ।

चलचित्रले विकडेजमा पनि राम्रो कमाइ गरिरहेको छ । दोस्रो आइतबार पनि मुख्य मल्टिप्लेक्सको अकुपेन्सी ४० देखि ६० प्रतिशत र एकल पर्दामा ३० देखि ४० प्रतिशत छ, जुन निकै उत्साहजनक हो । पारिवारिक कथा बोकेको चलचित्रमा विवाह भएपछि दुई मिल्ने दाजु-भाईबीच श्रीमतीका कारण झगडा, आमासँग मनमुटाव, जेठानी र देवरानीबीच हुने झगडा प्रस्तुत गरिएको छ । चलचित्रमा केकी र आँचलले पहिलो पटक एकसाथ काम गरेका हुन् ।

कपनगडी सिनेमा र फिल्म क्रियु नेपालको ब्यानरमा निर्माण भएको चलचित्र भिमनिधि तिवारीको कथा ‘झिँगेदाउ’मा आधारित रहेको छ । प्रदीप भारद्वाजको पटकथा तथा सम्वाद लेखेको चलचित्रमा अर्जुन पोखरेलको संगीत, बिष्णु घिमिरेको छायांकन, मित्र डि गुरुङको सम्पादन छ । सुलभ प्रतिक देउजा र समीक्षा देउजा निर्माता रहेको ‘झिँगेदाउ’को सह-निर्मातामा सुशिल दाहाल र ईश्वर घिमिरे छन् ।

Leave a Reply