‘परदेशी २’को गीत ‘के वर मागी फर्क्यौ’ मा प्रकाश र केकीको रोमान्स

आगामी असोज १४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘परदेशी २’को पहिलो गीत सार्वजनिक भएको छ । सोमबार राजधानीमा एक कार्यक्रम गरेर ‘के वर मागी फर्क्यौ भन्’ बोलको गीत सार्वजनिक गरिएको छ । निशान भट्टराईको स्वर रहेको गीतमा रमेश पौडेलको शब्द रचना र नारायण रायमाझीको संगीत छ ।

रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतको भिडियोका चलचित्रका अभिनेता प्रकाश सपुत र अभिनेत्री केकी अधिकारी फिचर्ड छन् । गीतले उनीहरु रोमान्टिक मुडमा प्रस्तुत छन् । भिडियोमा प्रकाश र केकीको केमेस्ट्री सुहाएको देखिन्छ ।

चलचित्रमा प्रकाश र केकीका साथै वर्षा सिवाकोटी, दिलीप रायमाझी, प्रशान्त तामाङ, नीर शाह, रमा थपलिया, सविन बास्तोला, देवेन्द्र बब्लु, रोशनी कार्की लगायतले अभिनय गरेका छन् । नारायण रायमाझीले निर्देशन रहेको यो चलचित्र २०१५ मा आएको सुपर हिट चलचित्र ‘परदेशी’ को सिक्वेल हो । नेपाल र अमेरिकामा छायांकन भएको यस चलचित्रमा मानकृष्ण महर्जनको छायांकन, अष्ट महर्जनको द्वन्द्व, बिबि अनुरागीको संगीत, गोविन्द राई र रामजी लामिछानेको कोरियोग्राफी र दीर्घ खड्काको सम्पादन छ ।

रमेश विजीले लेखेको यस चलचित्रलाई निर्देशक रायमाझी र राजेश वंशलले निर्माण गरेका हुन् । ‘परदेशी २’ मा विदेश पढ्न गएका विद्यार्थीको दुःख र त्यहाँको संघर्ष देखाइनेछ । यस चलचित्रबाट गायक प्रकाश सपुतले नायकको रूपमा डेब्यू गर्न लागेका हुन् ।

Leave a Reply