चिसोलाई अंगाल्दै प्रेम गीत ३ को छायांकन ( तस्बिर सहित)

यस वर्षको बहुप्रतिक्षीत चलचित्रमध्य एक ‘प्रेमगीत ३’ को यतिबेला मनाङमा छायाङ्कन भइरहेको छ । यति बेला मनाङमा चिसो अत्यधिक मात्रामा बढेको छ । माइनस २६ डिग्री सेल्सियससम्म पनि चलचित्रको मनाङमा छायाङ्कन भइरहेको छ । चलचित्रको हिउँ पर्दा छायाङ्कन गरिएका केही तस्बिर सार्वजनिक गरिएको छ । तस्बिरमा प्रदीप खड्का, नायिका क्रिस्टिना गुरुङ र निर्देशकको साथमा चलचित्र निर्माण युनिटलाई देखिएको छ । चलचित्रको ५५ प्रतिशत छायांकन मनाङमै हुनेछ ।

चलचित्रमा प्रदीप खड्का तेस्रो पटक ‘प्रेम’को रुपमा देखिँदैछन् भने नव-अभिनेत्री क्रिस्टिना गुरुङ ‘गीत’ र सन्तोष आफैँ ‘अंगत’को भूमिकामा पर्दामा देखिनेछन् ।प्रदीप र क्रिस्टिनाका साथमा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी, क्रिजन गौतम, जीवन बराल, जीवन भट्टराई, सुजल बस्नेतलगायतका कलाकारको पनि अभिनय हेर्न सकिनेछ ।

डेढ सय वर्ष अगाडिको कथा समेटिएको चलचित्रमा आफु नकारात्मक भूमिकामा देखिन लागेको निर्माता सेनको भनाइ छ । छायाङ्कन गरिएका तस्बिर राख्दै निर्माता सेनले आफूहरु डेढ वर्षदेखि यहि समयको प्रतिक्षामा रहेको बताएका छन् । उनले फेसबुकमा अगाडि लेखेका छन्, ‘कथाको मागलाई मध्यनजर राखेर बिगत डेढ वर्ष देखि यही मौसमलाई प्रतिक्षा गरेका थियौँ । जस्तो सुकै चुनौती झेल्न तयार हाम्रो सामुहिक कार्य हजुरहरुको लागि चैत २८ मा ।’

सन्तोष सेनको लगानीमा बन्न लागेको चलचित्रमा चत्र बहादुर चन्द र डम्बर बिक्रम सेन कार्यकारी निर्माताको रुपमा रहेका छन् । कल्याण सिंह र एलिश कार्कीको संगीत रहेको चलचित्रमा राजेश श्रेष्ठको डिओपी, हिमाल केसीको एक्सन, कविराज गहतराजको कोरियोग्राफी र बनिश शाह/भुपेन्द्र अधिकारीको सम्पादन रहनेछ ।

नयाँ वर्षको छेको पारेर चलचित्रलाई चैत्र २८ गते रिलिज गरिने तयारीमा रहेको छ ।

Leave a Reply