‘नेपाल्स सिङ्गिङ सुपरस्टार’ छोटो समयमा लोकप्रिय बन्न सफल

पछिल्लो समय नेपाली टेलिभिजनका पर्दाहरुमा गायनसँग सम्बन्धित धेरै रियालिटी शो हरु प्रशारणमा आइरहेका छन् । विदेशी फ्रेञ्चाइजहरुले स्थान लिइरहेको अवस्थामा पछिल्लो क्रममा केहि हप्ता पहिलेबाट नेपाली टेलिभिजनमा छुट्टै गायन रियालिडी शो प्रसारणमा आइरहेको छ, ‘नेपाल्स सिङ्गिङ सुपरस्टार’ ।

असार १२ गतेदेखि प्रसारण सुरू भएको यो रियालिटी शो लाई निर्माण कम्पनिले भिन्न बताएको छ । यो शो मा अन्य रियालिटी शो मा प्रतिभा देखाइसकेका ‘स्टार प्रतिभा’ले मात्रै स्थान पाएका छन् । अन्य रियालिटी शो मा भाग लिइसकेका गायक गायिका र पाँच वर्ष देखि संगीत साधनामा लागेका गायक गायिकालाई मात्रै छनोट गरिएको निर्देशक रवि श्रेष्ठले बताए ।

हालसम्म जम्मा ६ एपिसोड प्रसारण भएको सांगितिक रियालिटी शो ‘नेपाल्स सिङ्गिङ सुपरस्टार’ नेपाली रियालिटी शो प्रेमीहरु माझ छोटो समयमा नै लोकप्रियता बढाउँदै अघि बढेको छ । ‘ब्याटल अफ दि स्टार्स’को रूपमा इमेज एचडी टेलिभिजनबाट हरेक हप्ताको आइतबार र सोमबार बेलुका ७:४५ बजे प्रसारण भइरहेको यो कार्यक्रम निर्माण कम्पनिले छोटो समयमा रियालिटी शो प्रेमीमाझ लोकप्रिय बन्न सफल भएको बताएको छ ।

निर्णायकको रुपमा दर्शकहरु माझ चर्चित र प्रतिष्ठित निर्णायकहरु संजय श्रेष्ठ, सत्यराज आचार्य, स्वरुपराज आचार्य र मिलन नेवार रहनुलाई सफलताको पहिलो कडी निर्माण टिमले मानेको निर्देशक श्रेष्ठ बताउँछन् । निर्देशक श्रेष्ठले आफ्नो कार्यक्रम नेपालको मौलिक रियालिटी शो रहेको बताए ।

कार्यक्रममा प्रस्तोताको रुपमा टेलिभिजनको पर्दामा स्थापित होस्ट विवेकसिंह ठकुरी र केन्जल मेहर श्रेष्ठ छन् । हालसम्म प्रसारण भएका एपिसोडहरुमा प्रतिस्पर्धीहरुको गायन क्षमता पनि आकर्षणको अर्को कारण बनेको रियालिटी शोको पारखीहरुको धारण छ ।

३२ एपिसोडसम्म चल्ने यो प्रतियोगिताका विजेताले २५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । सुरजलाल जोशी प्रोजेक्ट हेडको रुपमा रहेको, बिदुर पाण्डे प्राविधिक हेड रहेको यो कार्यक्रम टेलिभिजनसँगै युट्युवमा ओएसआर रियालिटी मार्फत प्रसारण भइरहेको छ ।

Leave a Reply