रिश्ता बस्नेतको एक्सन अवतार रहेको ‘पासो’ को ट्रेलर सार्वजनिक

अभिनेत्री रिस्ता बस्नेत र सुनिशा बजगाईंको मुख्य भूमिका रहेको चलचित्र ‘पासो’को ट्रेलर सार्वजनिक भएको छ । सस्पेन्स, एक्सन र थ्रिलर भरिएको चलचित्रको ट्रेलरमा दुई युवतीलाई बन्धक बनाएर दिइएको यातना प्रस्तुत गरिएको छ । ट्रेलरमा रिस्ताको एक्सन अवतार पनि समावेश छ । ‘पासो’ आगामी कात्तिक २५ बाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ ।

सरु र प्रमिला नाम गरेका दुई जना साथी एक आपराधिक गिरोहद्वारा कुनै उच्च पदस्थ व्यक्तिको शारीरिक तृष्णा मेटाउनका लागि अपहरणमा परेको कथामा यो चलचित्र निर्माण भएको छ । यी दुईले आफूलाई खतरनाक परिस्थितिबाट जीवित राख्न गरेको संघर्षको कथामा यो चलचित्र निर्माण भएको बताईएको छ ।

आर.बी पुनको निर्देशन रहेको चलचित्रमा पुनकै कथा, पटकथा तथा संवाद रहेको छ । भगवान भुजेलले निर्माण गरेको चलचित्र क्राइम र सर्भाइबल जनरामा निर्माण गरिएको निर्माण पक्षले जानकारी दिएको छ । रिस्ता यस चलचित्रमा फरक अवतारमा दर्शकमाझ आउँदैछिन् । उनको एक्सन अवतार दर्शकले हेर्न पाउने छन् ।

चलचित्रमा रिस्ता र सुनिसाको साथमा रामकुमार बस्ताकोटी, प्रतीक दुलाल, प्रणव आकाशको मुख्य भूमिका छ । चलचित्रमा सूर्य दयालुको संगीत, उत्तम हुमागाईंको छायांकन र भूपेन्द्र अधिकारीको सम्पादन छ । बसन्त घिमिरे, अनु मुस्कान, अनुराग ढुंगाना, सरस्वती गुरुङ सह–निर्माता रहेको चलचित्रलाई जीजीए गु्रप र एफडी कम्पनीले वितरण गर्दैछन् ।

Leave a Reply