‘हनी बनी’बाट बाहिरिए अनमोल र सारा

दीवाकर भट्टराईको निर्देशनमा बन्न लागेको चलचित्र ‘हनी बनी’का मुख्य पात्रमा अनुबन्धित दुवैजना कलाकार चलचित्रबाट बाहिरिएका छन् । ती कलाकारहरु हुन् अभिनेता अनमोल केसी र अभिनेत्री सारा श्रीपाइली।

अभिनेता केसीले चरित्र निर्वाह गर्न सक्नेमा शंका व्यक्त गरेपछि निर्माण टिम र उनीबीच चलचित्र नगर्ने सहमति भएको जनाइएको छ । केही दिन वर्कसप समेत गरेका उनको चलचित्रको छायांकनका लागि बेलायतको भिसा समेत आइसकेको थियो । अभिनेत्री साराको भने भिसा नझरेपछि उनी चलचित्रबाट बाहिरिएकी हुन्। चलचित्रको चरित्रमा फिट हुने भएकै कारण सारालाई अनुबन्ध गरिएको थियो। चलचित्रमा उनी यूकेमा बस्ने नेपाली युवतीको भूमिकामा प्रस्तुत हुने थिइन् । तर अब भने निर्माण टिमले उनको ठाउँमा अभिनेत्री जसिता गुरुङलाई लिने तयारी गरेको छ । उनी अहिले बेलायतमै रहेको र स्क्रिप्ट पनि मन पराएकाले चलचित्रमा उनी अनुबन्धित हुन सक्छिन् ।

कम्पनी एबी इन्टरनेशलको प्रस्तुती रहने चलचित्रमा गौतम प्रोडक्सन र भ्वाइस फिल्मस् लिमिडेटले सहकार्य गरेका छन् । अमित बस्नेत, अजित केआर थापा र परी राना निर्माता रहेको चलचित्रको कार्यकारी निर्मातामा अंकित गौतम छन् । चलचित्र ‘हनी बनी’ आगामी दशैंको अवसरमा असोज १४ गते प्रदर्शन हुने छ।

Leave a Reply